Thaha

Saturday 21 September - 4:31 pm NST

आजदेखि नयाँ बर्ष २०७३ सुरु, नयाँ बर्षलाई लक्षित गरी  काठमाडांैमा बिशेष एकिकृत सुरक्षा योजना


काठमाडौं, ०१ वैशाख, आजदेखि विक्रम सम्वत अनुसार नयाँ बर्ष २०७३ सुरु भएको छ । आजको दिन साथीभाई, आफन्त र इष्टमित्रसँग शुभकामना आदानप्रदान गर्दै रमाइलो गरी नयाँ बर्ष मनाउने गरिन्छ । हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्सङ्कल्प गर्ने पनि गर्दछन् । नयाँ बर्ष आरम्भका अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।  सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने भएकाले आजको दिनलाई मेष अर्थात् वैशाख सङ्क्रान्ति पनि भनिन्छ । नयाँ वर्षका अवसरमा देशका विभिन्न ठाउँमा मेला लागेको छ । विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिएको हो । इतिहासकार प्राध्यापक डाक्टर दिनेशराज पन्तले मल्लकालदेखि नेपालमा मौलिक संवतका रूपमा विक्रम संवत चलेको बताउनु भयो ।  १२ औँ शताब्दीमा भारतको गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम संवतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको पनि इतिहासकार पन्तले बताउनुभयो ।  विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ, सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत भनिएको ईतिहासकार पन्तको भनाई छ ।  नयाँ वर्षका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीमा शुभकामना व्यक्त गर्दै अब संविधानको कार्यान्वयनबाट मुलुकलाई आर्थिक सामाजिक समृद्धितर्फको यात्रा अगाडि बढाउने जिम्मेवारी सबै नेपालीको काँधमा आएको उल्लेख गर्नुभएको छ । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ्ग, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीलगायतले पनि नयाँ बर्षको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना दिनुभएको छ । 
    नयाँवर्षको पहिलो दिन आज सडक सुरक्षाका लागि काठमाडांैं उपत्यकामा बिशेष एकिकृत सुरक्षा योजना लागू गरिएको छ । दुर्घटना न्यूनीकरणका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीनवटै महानगरीय प्रहरी परिसरसँग समन्वय गरी एकीकृत सुरक्षा योजना लागू गरेको हो । मादकपदार्थ सेवन गरी सवारी साधन चलाउने, होहल्ला एवं झैझडा गरी शान्ती सुरक्षामा प्रतिकुल असर पार्ने र पैदल यात्रुको ज्यानसमेत जोखिममा पार्न सक्ने सम्भावनालाई ध्यानमा राखी चेकजाँचमा कडाई गरिएको महाशाखाले जनाएको छ । दुर्घटना न्यूनीकरणका लागि नियमीत रुपमा चेकजाँच लगायतका काम गरिने भएपनि आज सबै प्रहरी निकायसंगको समन्वयमा अरु दिन भन्दा कडाई गरिएको महाशाखाको भनाई छ ।